भक्तपुर, वैशाख ४ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । आजै देवीदेवतालाई सगुन पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवीदेवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।
बिस्का जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे