
काठमाण्डौ। वि.सं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् गठन भएको अन्तरिम सरकारको पहलमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पुँजीको बचत गर्न प्रोत्साहित गर्दै लगानीका अवसर बढाउने तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यबाट वि.सं २०४७ मा नागरिक लगानी कोषको स्थापना भएको हो ।
यस उद्देश्य प्राप्तिका लागि सर्वसाधारण नागरिक, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी एवम् अन्य पेसागत व्यक्तिहरूलाई कोषमा सहभागी गराई दक्ष र व्यावसायिक ढंगबाट बचत संकलन तथा लगानी व्यवस्थापन गर्ने कार्यमा कोष निरन्तर लागिरहेको छ । कोषले ३५ वर्षको इतिहासमा सांगठिनक तथा व्यावसायिक रूपमा ठुलो फड्को मारेको छ । सुरुमा १३ जना कर्मचारीबाट तत्कालीन सेक्युरिटी खरिद बिक्री केन्द्रको डिल्लीबजारमा रहेको कार्यालयको एक दुई ओटा कोठाबाट कार्य सञ्चालन गरेको कोषले हाल आफ्नै आधुनिक सुविधा सम्पन्न भवनबाट केन्द्रीय कार्यालय सञ्चालन गरिहेको छ । काठमाडौँबाहेक ६ वटा प्रदेश सदरमुकाममा कोषका शाखा कार्यालयबाट समेत सेवाप्रवाह हुने गरेको छ । हाल कोषमा देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्य राखी स्थापना भएको नागरिक लगानी कोषले यही चैत ४ गते ३५ वर्ष पूरा गरी ३६औँ वर्षमा प्रदेश गर्दैछ ।
कोषको विकासक्रम, वर्तमान अवस्था तथा कार्यक्रम, पुँजीबजार विकासमा कोषको योगदान, कोषसामु रहेका चुनौती र आगमी कार्य योजनालगायत विषयमा केन्द्रित रहेर कोष कार्यकारी निर्देशक कार्कीअनुसार ,स्थायी, करार तथा सेवा करार गरी १९१ जना कर्मचारीहरू कार्यरत रहेका छन् । परम्परागत कागजी कार्य प्रणालीलाई परिमार्जन गर्दै हाल कोष आधुनिक र प्रविधिमैत्री संस्थाका रूपमा रूपान्तरण भएको छ । सूचना प्रविधिलाई प्रयोग गरी कोषले आफ्ना सेवाग्राहीलाई सहज, सरल र झन्झटरहित सेवा प्रदान गरेको छ भने आफ्नो कारोबारसमेत चुस्त दुरुस्त रूपमा राखेको छ ।
प्रारम्भमा सरकारी कर्मचारीहरूको तलबबाट ५ प्रतिशत रकम कोषमा जम्मा गराई बचत संकलन गर्ने गरिएको थियो । कोषको कार्यक्रम नागरिकमाझ लगेर त्यसलाई सामाजिक कल्याणकारी कार्यक्रमसँग समेत जोड्ने कोषको उद्देश्यबमोजिम कोषले समय क्रममा विभिन्न योजना तथा कार्यक्रम क्रमशः सुरु गर्दै आएकोमा हाल कोषले सात ओटा भिन्न भिन्न प्रकृतिका कार्यक्रम तथा योजनाहरू सञ्चालन गरिरहेको छ । यी योजनाहरूमार्फत चालु आवको पुस मसान्तसम्ममा संकलित कोष रकम रु २ खर्ब ९४ अर्ब ६५ करोड रहेको छ । उक्त रकमलाई विभिन्न क्षेत्रमा लगानी गरिएको छ । कोषमा हाल ७ लाखभन्दा बढी सहभागीहरू रहेका छन् । कोषले आफ्ना सहभागीहरूलाई समय सापेक्ष उचित ब्याजदर तथा प्रतिफल दिइरहेको छ । यसका अत्तिरिक्त सहभागीहरूका लागि विभिन्न प्रकारका सहुलियत दरका कर्जा तथा सापटीसमेत प्रदान गर्ने गरेको छ ।
नागरिक लगानी कोष स्थापना कालमा रु. १ करोड ४० लाख चुक्ता पुँजी रहेको कोषको चुक्ता पुँजी हाल रु. ६ अर्ब ८० करोड ५७ लाख पुगेको छ । कोषमा नेपाल सरकारलगायत, राष्ट्रिय बीमा संस्थान, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, अन्य बंैक तथा वित्तीय संस्था र सर्वसाधारण जनताको समेत लगानी रहेको छ । कोषले लगानीकर्तालाई विगत लामो समयदेखि राम्रो प्रतिफलसमेत दिँदै आएको छ ।
कोष स्थापनाकालमा नेपालको पुँजीबजार बामे सर्ने अवस्थामा रहेको थियो । त्यस समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर निष्कासन गर्नुपर्ने प्रावधान रहेको थियो । तर, तत्कालीन समयमा मर्चेन्ट बैंकरको काम गर्ने कुनै पनि संस्था थिएनन् । यो परिवेशमा पुँजी बजारमा गतिशीलता ल्याउने संस्थाको खाँचो पूरा गर्न पनि नागरिक लगानी कोष अघि आएको थियो । यस अवधिमा नागरिक लगानी कोषले धेरै संघसंस्थाको सेयर सार्वजनिक निष्कासनका लागि निष्कासनकर्ता तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार एवम् सेयर प्रत्याभूतिकर्ताका रूपमा कार्य गरेको र हाल उक्त कार्यहरू थप व्यवस्थित रूपमा सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त पुँजीबजारमा समेत कोष आफैँ र सहायक कम्पनी नागरिक स्टक डिलरमार्फत सक्रिय रहेको छ ।
नागरिक लगानी कोषले विभिन्न प्रकारका अवकाश कोष व्यवस्थापन र सामाजिक सुरक्षाका योजनाहरू सञ्चालन गरिरहेको छ । यी योजनाहरूमा कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष रहेका छन् ।
कर्मचारी बचत वृद्धि अवकाश कोष योजना कोषको सबैभन्दा ठुलो योजना हो । यसमा निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी र अन्य संगठित संस्थाका कर्मचारीहरू सहभागी रहेका छन् । यस योजनाका सहभागीेहरूले बचतमा पाउने ब्याजका अतिरिक्त प्रतिफलसमेत पाउँछन् भने कोषले प्रदान गर्ने विभिन्न सापटी तथा कर्जा सुविधाहरू उपभोग गर्न सक्दछन् ।
उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्छन् । योजनाका सहभागीहरूले जम्मा गरेको रकम, सोबाट आर्जित ब्याज तथा प्रतिफल एकमुष्ठ वा पेन्सनको रूपमा अवकाशपश्चात् लिन सक्दछन् । यस योजनामा योगदनामा तथा गैरयोगदानका रूपमा रकम जम्मा गर्न सकिन्छ । योगदानमा आधारित हुन संगठित संस्थामा कार्यरत कर्मचारीहरूको तलबबाट केही रकम कट्टा गरी सो रकममा संस्थाले थप गर्नुपर्ने व्यवस्था रहेको छ भने गैरयोगदानमा आधारित भन्नाले संगठित संस्थाले मात्रै उपादन तथा पेन्सनबापतको रकम जम्मा गर्ने व्यवस्थालाई जनाउँछ । यस योजनाका सहभागीले सेवाकालमा कोषले प्रदान गर्ने विभिन्न सापटी तथा कर्जा सुविधाहरू समेत उपभोग गर्न सक्दछन् ।
लगानीकर्ता अवकास योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुन सक्ने छन् । कर्मचारीको औषधोपचार खर्च, कल्याणकारी कोष, बीमा कोष, हित कोष, वार्षिकोत्सवबापतको कोष, सञ्चित बिदालगायतका दायित्व व्यवस्थापनका लागि यस योजनामा सहभागी हुन सकिन्छ । यस योजनाका सहभागीेहरूले बचतमा पाउने ब्याजका अतिरिक्त प्रतिफल समेत पाउँछन् भने कोषले प्रदान गर्ने विभिन्न सापटी तथा कर्जा सुविधाहरू समेत उपभोग गर्न सक्दछन् ।
नागरिक एकांक योजना अन्तर्गत साना तथा मध्यमस्तरका लगानीकर्ताहरूबाट रकम सकलन गर्ने र सो पुँजीलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रवर्धन गरी सहभागीहरूलाई निश्चित प्रतिफल प्रदान गर्ने गरिन्छ ।
नागरिक पेन्सन योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्नेछन् । यसमा गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था कोषले गरेको छ । न्यूनतम मासिक पाँच सय रुपैयाँ जम्मा गरेर योजनामा सहभागी हुन सकिने तथा आफ्नो क्षमतानुसार १० ले भाग जाने जतिसुकै रकम पनि जम्मा गर्न सकिने व्यवस्था यस योजनामा रहेको छ । जम्मा भएको रकममा आकर्षक ब्याज÷प्रतिफल प्राप्त हुन्छ । सहभागीको उमेर ६० वर्ष पूरा भएपछि मासिक रूपमा नियमानुसार पेन्सन लिन सकिने र पेन्सन लिन नचाहेमा योजनामा सहभागी भएको निश्चित समयपछि एकमुष्ठ रकम फिर्ता भुक्तानी लिन सकिने व्यवस्था रहेको छ ।
राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कोषअन्तर्गत संघीय निजामती, प्रदेश निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सामुदायिक विद्यालयका शिक्षकलगायत सम्पूर्ण सरकारी सेवाका पदमा रहेका कर्मचारीहरूको बीमाबापत नेपाल सरकारबाट स्वीकृत कार्यविधिअनुसार प्रिमियम रकम संकलन गरी बीमा पोलिसीका लागि सो रकम राष्ट्रिय जीवन बीमा कम्पनीमा पठाउने गरिएको छ ।
यसका अतिरिक्त कोषले नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीहरूको बीमा कोषसमेत सञ्चालन गरिरहेको छ ।
उल्लेखित कार्यक्रम तथा योजनाहरूका माध्यमबाट कोषले सहभागीहरूलाई आफ्नो अवकाश पश्चातको जीवनलाई आर्थिक रूपमा सुरक्षित बनाउने अवसर प्रदान गर्नुका साथै सहभागीहरूलाई कोषले विभिन्न किसिमका सामाजिक सुरक्षाका सुविधाहरूसमेत प्रदान गर्ने गरेको छ ।
कोष स्थापना हुँदाका समयमा सरकारी कर्मचारीहरूको तलबबाट कोष कट्टी गर्ने गरिएको र कर्मचारी बचत वृद्धि अवकाश कोषमा मूलतः कर्मचारीहरूको सहभागिता हुने भएकोले त्यस्तो बुझाइ रहेको हुन सक्छ । तर, यथार्थमा नागरिक लगानी कोषले रोजगारीमा रहेका कर्मचारीहरूको अतिरिक्त आम नागरिकहरूलाई समेत समेट्नेगरी विभिन्न कार्यक्रम तथा योजनाहरू सञ्चालन गरिरहेको छ ।
कोषले आम नागरिकलाई लक्षित गरी सञ्चालन गरेका नागरिक एकांक योजना र नागरिक पेन्सन योजनामा सबै सर्वसाधारणहरूले सहभागी हुन सक्नु हुन्छ । विशेषगरी नागरिक पेन्सन योजनालाई आय/आर्जन गर्ने सबै नागरिकहरूलाई समेट्ने गरी सञ्चालनमा ल्याइएको छ । यस योजनामा नेपालको सबै भूभागमा बस्ने वा वैदेशिक रोजगारीमा रहेका नागरिकहरू न्यूनतम ५०० रुपैयाँ मासिक बचत गरेर सहभागी हुन सक्नु हुन्छ । सक्रिय जीवनमा कमाएको केही पैसा नियमित बचत गरेर अवकाश जीवनमा पेन्सनका रूपमा उपभोग गरी आर्थिक रूपमा सुरक्षित हुने अवसर यस योजनाले दिएको छ । यस योजनालाई गाउँगाउँसम्म पु¥याउन कोषले स्थानीय तहहरूसँग समन्वय गरिरहेको छ । यस योजनामा डिजिटल माध्यमबाटै जोडिन सक्ने व्यवस्था मिलाउनेतर्फ कोषले काम गरिरहेको छ ।
यसर्थ, कोषलाई कर्मचारीहरूको मात्र भन्ने नबुझेर आमनागरिकको बचत सञ्चिति गर्ने संस्थाका रूपमा समेत बुझिदिन अनुरोध छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे