
काठमाडौं । निजी विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) का नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन्।
बुधबार तिनकुनेस्थित प्याबसन कार्यालयमा आयोजित समारोहमा १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
सपथ ग्रहणपछि निर्विरोध चयन भएका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिए। उनले निर्वाचनमा योग्य व्यक्तिहरू चयन भएको उल्लेख गर्दै, निर्वाचित नभएका उम्मेदवारहरू पनि सक्षम र योग्य रहेको बताए।
उनका अनुसार, संस्थाको पहिलो प्राथमिकता शिक्षा विधेयक हुनेछ। विशेष गरी विद्यालयहरूलाई कम्पनीका रूपमा स्थापित गर्ने विषयलाई विधेयकमा समावेश गराउने प्रयास गरिनेछ।
अध्यक्ष अधिकारीले विद्यालयहरूको सम्पत्ति कम्पनी स्वरूपमै रहनुपर्नेमा संगठन प्रतिबद्ध रहेको बताए। साथै, शिक्षण सामग्री खरिदमा उच्च करको बोझ घटाउन सरकारसँग संवाद गर्ने योजनाबारे पनि जानकारी दिए। उनका अनुसार, प्याबसनले विद्यालयहरूको विधायी संरचना र आर्थिक व्यवस्थापनमा सुधार ल्याउने विषयलाई प्राथमिकतामा राख्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे