
काठमाडौं । वीर अस्पतालको निर्देशक पदमा डा. दिलिप शर्मा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनलाई दुई वर्षका लागि निर्देशक नियुक्त गरेका हुन्।
शुक्रबार उपकुलपति बस्नेतले निर्देशक पदका लागि डा. शर्मा, डा. अनुपमा कार्की र डा. समाज गौतमको नाम सिफारिस गरेका थिए। मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिस भएका डा. शर्मालाई वीर अस्पतालको निर्देशक बनाउने निर्णय गरेका छन्।
नयाँ जिम्मेवारीका लागि डा. शर्माले आजै नियुक्ति पत्र बुझेर पदभार ग्रहण गर्ने तयारी गरेका छन्। उनले मन्त्रालयबाट पत्र लिनका लागि बोलाइएको जानकारी दिँदै सम्भवत आजै पदभार ग्रहण गर्ने बताएका छन्।
यसअघि वीर अस्पतालको निर्देशकका रूपमा डा. सन्तोष पौडेल कार्यरत थिए। उनको दुई वर्षे कार्यकाल गत ४ फागुनमा समाप्त भएपछि डा. समाज गौतमलाई निमित्त निर्देशकको रूपमा जिम्मेवारी दिइएको थियो।
नव नियुक्त निर्देशक डा. शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार लगायतका पदमा रहेर प्रशासनिक अनुभव हासिल गरिसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे