
काठमाडौँ, २५ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा रु तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव नगर्न निर्देशन दिएका छन्।
बजेट निर्माण प्रक्रियाका सन्दर्भमा आज खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरूसँग बेग्लाबेग्लै भएका छलफलमा उनले असङ्ख्य साना योजना समावेश गर्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गरेका थिए। उनले पूर्वतयारी सकिएका ठूला, रुपान्तरणकारी तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना मात्र बजेटमा समेटिनुपर्नेमा जोड दिएका थिए।
उनले प्रदेश तथा स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्ने बताएका छन्। आवश्यक परे एकपटकका लागि बीउपुँजी प्रदान गरी ती तहहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।
उक्त बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव र सङ्घीय मामिला सचिवलगायत उच्च अधिकारीहरू सहभागी रहेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे