
काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो काठमाडौं आएका छन्। उनी सिम्रिक एयरको हेलिकप्टर चार्टर गरी पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
शाहको आगमनलाई लिएर विमानस्थल बाहिर उनका समर्थकहरूको भिड देखिएको थियो। समर्थकहरूले शाहको समर्थनमा नाराबाजी गरेका थिए, भने शाहले पनि गाडीबाटै हात हल्लाएर अभिवादन गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउनुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजसंस्थाको समर्थनमा प्रदर्शन सुरु भएको थियो। घन्टौंअघि नै भेला भएका प्रदर्शनकारीहरूले राजसंस्थाको पक्षमा नाराबाजी गर्दै सरकारविरुद्ध विरोध गरेका थिए।
राजावादीहरूको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित बनेको थियो। भिड बढ्दै गएपछि सुरक्षा व्यवस्थालाई थप कडा पारिएको थियो। प्रदर्शनकारीहरू विमानस्थल क्षेत्रमा लगातार पुगेपछि सुरक्षाकर्मीको उपस्थिति समेत बाक्लो बनाइएको थियो।
पूर्वराजा शाह पोखराबाट विमान चार्टर्ड गरी काठमाडौं आउन लागेपछि उनका समर्थकहरू सडकमा उत्रिएका थिए। विमानस्थलको गोल्डेन गेट अगाडि राजावादी समूहले ठूलो संख्यामा प्रदर्शन गरेपछि चाबहिलदेखि तीनकुनेसम्मको सडक अस्तव्यस्त बनेको थियो। अवस्था नियन्त्रण गर्न सो क्षेत्रमा चल्ने सवारीसाधन डाइभर्ट गरिएको थियो।
शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल लगायत राजावादी समूह विमानस्थल पुगेका थिए, जसका कारण सुरक्षा व्यवस्था थप कडा बनाइएको थियो। विमानस्थलमा अवतरणपछि पूर्वराजा शाह गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ हुँदै निर्मल निवास पुग्ने कार्यक्रम तय गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे