
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनी मौसमको प्रभावले देशका विभिन्न भागमा सामान्य वर्षा र उच्च क्षेत्रमा हिमपात शुरु भएको छ। प्रिमनसुनी मौसमले मनसुनको लागि वातावरण तयार पार्ने काम गर्दछ। यस अवधिमा अप्रत्याशित मौसम परिवर्तनहरू देखिन सक्छ, जस्तै मेघ गर्जन र चट्याङ सहित वर्षा, साथै हावाहुरीको सम्भावना पनि रहेको छ।
गएको राति काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा छिटपुट वर्षा भएको छ। वर्तमानमा देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले वर्षा भएको महाशाखाले जनाएको छ। मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ भने झापा, इलाम, खोटाङ, दोलखा, सोलुखुम्बु र सिन्धुपाल्चोकमा पनि वर्षा र हल्का वर्षा भएको छ।
वर्षाले काठमाडौं उपत्यकामा चिसो बढाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यस बीचमा, प्रिमनसुनको प्रभावले दैनिक जीवन, स्वास्थ्य र यातायातमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे