
काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को आधिकारिक खेल तालिका सार्वजनिक गरेको छ। क्यानले जनाएका अनुसार, लिगको उद्घाटन मङ्सिर १५ गते हुने छ, जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन खेल मध्याह्न १२:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। क्यानले भनेको छ कि मङ्सिर १७ देखि २४ गतेसम्म कुनै खेल आयोजना हुने छैन, तर पुस १ गतेसम्म लिग चरणका खेल निरन्तर हुँदै जान्छ।
मङ्सिर १७ देखि ३० गतेसम्म प्रत्येक दिन दुई वटा खेल हुनेछन्। पहिलो खेल बिहान ९:१५ बजे र दोस्रो खेल दिउँसो १:१५ बजे सुरु हुनेछ। पुस १ गते भने एक मात्र खेल हुनेछ।
लिग चरणको खेल तालिका अनुसार, उद्घाटन खेलपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ। साथै, पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल आयोजना हुनेछन्। पहिलो क्वालिफायर खेल दिउँसो १:१५ बजे सुरु हुनेछ, र दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२:१५ बजे हुनेछ।
दोस्रो क्वालिफायर खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ। यस वर्षको एनपिएल फाइनल पुस ६ गते शनिबार मध्याह्न १२:१५ बजे हुनेछ। फाइनलमा पहिलो र दोस्रो क्वालिफायरको विजेता टोली उपाधिका लागि भिड्नेछन्।
यसका साथै, क्यानले भनेको छ कि यस बर्षको एनपिएलले क्रिकेट प्रेमीलाई आकर्षित गर्न र नेपालमा क्रिकेटको स्तर उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे