
काठमाडौँ, २० पौष । नेकपा एमालेका नेता डा भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको कडा विरोध गर्नुभएको छ।
नेता रावलले आज सामाजिक सञ्जालमा लेख्दै दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको भर्त्सना गरेका हुन्। उनले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सशक्त रूपमा निन्दा र विरोध गर्न सबैलाई आग्रह गरेका छन्।
नेता रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै बेला भएकाले कथित जनयुद्ध पनि भारतको स्वार्थमा भएको थियो भन्ने पुष्टि पनि भएको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
‘विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग भएको छ।नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौं!
यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन।यो षडयन्त्र देशको स्वाधीनता र समृध्दि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन!’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे