
काठमाडौँ, वैशाख १ – प्रधानमन्त्री केपी शर्मा ओलीले विक्रम संवत् २०८२ को शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबै नेपालीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुभएको छ।
उहाँले विदेश र स्वदेशमा रहेका सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साहको कामना गर्दै कठिनाइका बाबजुद हासिल उपलब्धिलाई आधार मानेर उज्यालो भविष्यतर्फ अघि बढ्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
“नयाँ वर्षमा नयाँ ऊर्जा, नयाँ सङ्कल्प र सम्भावनाको खोजी गरौं,” भन्दै प्रधानमन्त्रीले आशा, उत्साह र सकारात्मक सोचलाई अघि बढ्ने प्रेरणाको रूपमा लिन आग्रह गर्नुभएको छ।
उहाँले सरकार एक्लैले मात्र होइन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयासबाट मात्र राष्ट्रको लक्ष्य पूरा हुने स्पष्ट गर्नुभयो। जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो साझा सम्पत्ति भएको उल्लेख गर्दै तिनलाई एकताको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले मुलुकमा विकास सपना नभई यथार्थ बन्न थालेको, ग्रामीण भेगहरूमा पूर्वाधार निर्माण र सामाजिक सेवा प्रणालीमा सुधार भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीको उपलब्धिलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो।
युवापुस्तालाई राष्ट्रको सम्भावना ठहर गर्दै उहाँले युवालाई उद्यम, प्रविधि, शिक्षा र स्वरोजगारका माध्यमबाट आत्मनिर्भर बनाउने नीति सरकारको रहेको जनाउनुभयो। साथै, लोकतान्त्रिक परिवर्तनलाई अँगाल्दै निराशालाई परास्त गरी राष्ट्रप्रेम र प्रगतिमा अगाडि बढ्न सबैमा आह्वान गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे