
काठमाडौँ – राष्ट्रिय सभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने क्रममा स्थानीय दीपक मल्लिकको घर भत्काइएको घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
सांसद घनश्याम रिजालले उक्त घटनामा संलग्न बजरङ्गी बाबा लगायत सबैलाई कानुनी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले दलित समुदायप्रति गम्भीर अपमानजनक व्यवहार गरिएको उल्लेख गर्दै, “घरभित्रको माटोसमेत अपवित्र भन्दै फालिएको घटनाले करिब ६० लाख दलित नागरिकलाई अपमानित गरेको छ,” बताएका छन्।
रिजालका अनुसार, निर्वाचित जनप्रतिनिधिले जातीय विभेदको घटनामा संलग्न हुनु नेपाली समाजको चेतना स्तरलाई उदाङ्गो बनाउने विषय हो। घटनापछि गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि पीडित परिवार अझै असुरक्षित महसुस गरिरहेको भन्दै उनले सरकारलाई सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेका छन्।
सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले पनि महायज्ञको नाममा दलित समुदायको घर भत्काउनु गम्भीर आपराधिक कार्य भएको बताएका छन्। सांसद विश्वकर्माले पालिका अध्यक्षलाई पदमुक्त गर्दै बजरङ्गी बाबालाई अविलम्ब पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे