
काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त भएको हुँदा त्यसलाई ठूला पूर्वाधार र दीर्घकालीन परियोजनामा लगानी गर्नुपर्ने बताए।
अर्थमन्त्री खनालले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता महत्वपूर्ण परियोजनामा सार्वजनिक–निजी साझेदारी मोडलमार्फत लगानी बढाउन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालित गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्। साथै, मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालमा आपूर्ति शृंखलामा असर पार्न सक्ने र मूल्यवृद्धि बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रणमा राख्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका छन्।
अर्थमन्त्री खनालले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन छिट्टै निर्माण गर्नुपर्ने, विभिन्न अवकाश कोषमा लागेको कर पुनर्विचार गर्नुपर्ने, र समान प्रकृतिका आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्ने सुझाएका छन्। उनले सरकारी स्वामित्वका संस्थाहरू प्रायः समस्याग्रस्त हुने भए पनि नागरिक लगानी कोषले व्यवसायिक सफलता हासिल गरेको उल्लेख गरेका छन्।
कार्यक्रममा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले उत्पादनशील र पूर्वाधार क्षेत्रमा लगानी विस्तार आवश्यक रहेको बताए। कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको लगानी विविधीकरणको आवश्यकता औँल्याउँदै संकलित रकम विभिन्न क्षेत्रमा लगानी हुँदै आएको जानकारी दिए। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले दीर्घकालीन र सुरक्षित प्रतिफलका लागि कोषको लगानी विविधीकरण गर्नुपर्ने र मुद्दती निक्षेपमा मात्र सीमित नराखी ऋणपत्र र अन्य वित्तीय उपकरणमा लगानी बढाउन सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे