
काठमाडौँ , १४ चैत । नेपाल प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट एक अमेरिकी नागरिकलाई अपहरणमुक्त गरेको छ। पोखरा महानगरपालिका वडा नं. ६ स्थित एक होटेलबाट सोमबार ७० वर्षीया अमेरिकी महिला अपहरणमा परेकी थिइन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा महिलालाई अपहरणबाट मुक्त गरियो। अपहरणको आरोपमा एक महिला, सरिता लामालाई पक्राउ गरिएको छ।
ती वृद्धा भारतीय मूलकी अमेरिकी नागरिक हुन् र मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी थिइन्। अपहरणपछि तीन लाख युरो फिरौतीको माग गरिएको थियो। नेपालस्थित अमेरिकी दूतावासले जानकारी गराएपछि प्रहरी अनुसन्धानमा जुटेका थिए। सरिता लामालाई नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ४ की ३७ वर्षीया महिला भएकी बताइएको छ। उनलाई अपहरण र शरीर बन्धक कसुरमा अनुसन्धान अघि बढाइँदै छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे