
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरू पार्टीमा पदको भागबण्डा नगरी, नयाँ सोचका साथ आएका बताएका छन्। रुपन्देही–१ निर्वाचन क्षेत्र अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभामा उनले भने, “हामी नयाँ पुस्ताका साथीहरू एउटै ठाउँमा उभिएका हौं। पद र भागबण्डा होइन, पाँच वर्षसम्म स्थायी सरकार र एकै प्रधानमन्त्री रहने व्यवस्था बनाउन आएका हौं। अब युवा उम्मेदवारहरू पहिलो पटक चुनावमा होमिएका छन्, तपाईको मत खेर जाने छैन।”
लामिछानेले पार्टीभित्रको एकता र आन्तरिक समझदारीको महत्त्वबारे जोड दिँदै भने कि नयाँ पुस्ताले मात्र देशको विकास गर्न सक्छ। उनले जनताको शक्ति कहिल्यै नजरअन्दाज नगर्नुपर्ने र विगतमा जनतालाई नजरअन्दाज गर्नेहरूले आफ्नो इतिहासमै सीमित भएको बताए।
सभापति लामिछानेले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा दल र नेताले होइन, देश नै विजेता बन्ने चुनाव भएको पनि बताएका छन्। उनले भने, “अहिलेसम्म दल र नेताले धेरै पटक जिते, तर यसपटक चुनाव देशले जित्ने छ। अब जनताको मतले देशको दिशा तय गर्नेछ।”
उनको भनाइ अनुसार यो चुनाव इतिहासमै विरलै पाइने अवसर हो र अब्बल युवा नेतृत्वले देशलाई नयाँ दिशा दिन सक्षम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे