
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका र देशका प्रमुख सहरहरूमा वायुप्रदूषणको स्तर अत्यधिक वृद्धि भएको जानकारी दिएको छ।
प्राधिकरणले वायुप्रदूषणको यस खतरनाक अवस्थाबाट बच्नका लागि नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। यसले सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न र सार्वजनिक स्थानहरूको सरसफाईमा ध्यान दिन सुझाव दिएको छ।
अत्यधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्यलाई केही समयका लागि स्थगन गरी वातावरणमैत्री ढंगले नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न र फोहरमैला नजलाउन पनि आग्रह गरिएको छ।
प्राधिकरणले वन डढेलोको रोकथामका लागि सचेत रहन र बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्याग्रस्त व्यक्तिहरूको विशेष हेरचाह गर्न अपील गरेको छ। प्रदूषणको समयमा सुरक्षित मास्कको प्रयोग गर्न पनि प्राधिकरणले सबैलाई अनुरोध गरेको छ।
यो चेतावनी गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र वातावरण विभागसँग समन्वय गरेर जारी गरिएको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे