
काठमाडौं । हरेक वर्ष असोज १ गते कन्या संक्रान्तिका दिन विश्वकर्मा जयन्ती पर्वको रुपमा मनाइन्छ । सूर्यदेव कन्या राशिमा प्रवेश गर्ने यो दिनलाई भगवान विश्वकर्माको पूजा–आराधनासहित श्रद्धा एवं भक्तिपूर्वक मनाउने परम्परा रहिआएको छ ।
विश्वकर्मा भगवानलाई हातहतियार, मेसिनरी र उद्योग धन्दाका संरक्षक देवता मानिन्छ । पुराण अनुसार उनले देवताका लागि हतियार, भवन र मन्दिर निर्माण गरेका थिए भने ब्रह्माण्ड सृष्टिमा ब्रह्मालाई सहयोग गरेका थिए । यही कारणले विश्वकर्मालाई साक्षात भगवानको रुपमा पूजिन्छ ।
पण्डित विदुर लोचन न्यौपानेका अनुसार सम्पूर्ण कलकारखाना, मन्दिर तथा देवलिपि शैलीमा बनेका संरचनालाई विश्वकर्माको सिद्धि र प्रसन्नताको प्रतीक मानिन्छ । यस दिन पूजापाठ, भजन किर्तन गर्नेले मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
पूजामा विश्वकर्माको प्रतिमा वा तस्वीर राखेर कलश, दियो, धुप, दीप, अबिर, केशरी, जौ, तिल, लाभा, फूल, दूबो तथा पवित्र जल अर्पण गर्ने चलन छ । घण्ट, शंख र चमर बजाउँदै भजन किर्तन गरिएको हुन्छ । पूजा सम्पन्नपछि भक्तजनले प्रसाद बाँड्ने र भोलिपल्ट प्रतिमा विसर्जन गर्ने परम्परा छ ।
तराईमा यो पर्व विशेष धुमधामका साथ मनाइन्छ भने पहाडमा अपेक्षाकृत सामान्यतया मात्र पूजा गरिन्छ । विशेष गरी मेसिनरी, गाडी, ग्रिल पसल तथा उद्योगधन्दा सञ्चालन गर्नेले यस दिनलाई पर्वका रूपमा मनाउने गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे