
काठमाडौं । आज बिहीबार विजया दशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ । दुर्गापक्षको मुख्य दिनका रूपमा यस दिन मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गरिँदै छ ।
दशैं घर वा पूजा कोठामा नौ दिनसम्म गरिँदै आएको पूजा आराधनाको प्रसाद आज मान्यजनबाट ग्रहण भइरहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजे टीका ग्रहण गर्ने उत्तम साइत परेको थियो । तर विजया दशमी आफैं शुभ दिन भएकाले मानिसहरूले साइत नहेरी पनि टीका ग्रहण गरिरहेका छन् ।
आज बिहान ९ः२३ बजे देवी विसर्जनको साइत परेको र त्यसअनुसार विसर्जन गरिएको छ । घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका–जमरा लगाइँदै छ ।
आश्विन शुक्ल दशमीका दिन मनाइँदै आएको विजया दशमी पर्वमा आज देशभर परिवार तथा मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा ग्रहण गर्ने परम्परा निरन्तर रहँदै छ ।
आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गरिरहेका छन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइँदै आएको विजया दशमी बडादसैंको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा आज विशेष उत्साहका साथ मनाइँदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे