
काठमाडौं, ३ असार । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले प्रस्तावित कृषि विधेयकमा कृषिमैत्री धारणा र विषयवस्तु समेटिनुपर्नेमा जोड दिएका छन्।
महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले आयोजना गरेको ‘प्रस्तावित कृषि विधेयक र राष्ट्रिय कृषि नीति’ सम्बन्धी सरोकारवालासँगको अन्तरक्रियामा बोल्दै उपाध्यक्ष ढकालले सरकार कृषिमा केन्द्रित विधेयक ल्याउने तयारीमा रहेको र हाल सुझाव संकलनको चरणमा रहेको जानकारी गराए।
उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई अपेक्षित प्राथमिकता नदिइएको टिप्पणी गर्दै कृषिको दिगो विकासका लागि विधेयकमा स्पष्ट र व्यावहारिक प्रावधानहरू आवश्यक रहेको बताए। “कृषि विधेयकको आवश्यकता पहिल्यै देखेर बहस चलाइएकाले अब यसले मूर्त रुप लिँदैछ,” उनले भने।
कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले विधेयकको प्रारम्भिक मस्यौदामा समावेश हुन बाँकी रहेका बुँदाहरूलाई समेट्न सरोकारवाला संघसंस्थाबाट राय र सुझाव संकलन भइरहेको जानकारी दिए। उनले विगतमा मन्त्रालयलाई प्रदान गरिएका सुझावहरूमध्ये केही सम्बोधन भएको भए पनि अझै धेरै मागहरू समेटिन बाँकी रहेको बताए।
अन्तरक्रियामा विभिन्न क्षेत्रका संघसंस्थाहरूको सहभागिता रहेको थियो। सहभागी संस्थाहरूमा नेपाल डेरी एसोसिएसन, रुद्राक्ष व्यवसायी संघ, नेपाल व्यवसायी संघ, नेपाल चामल तथा दाल उत्पादक संघ, नेपाल कफी व्यवसायी महासंघ, फ्लोरिकल्चर एसोसिएसन नेपाल, नेपाल कोदो तथा फापर संघ, नेपाल सुन्तला तथा कागती संघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ, नेपाल कुचो संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल अलैँची व्यवसायी महासंघ र निर्यात व्यवसायी महासंघ नेपाल रहेका थिए।
उनीहरूले प्रस्तावित विधेयकमा आफ्ना क्षेत्रगत चिन्ताहरू समेट्न आग्रह गरेका छन्। सुझाव संकलनपश्चात् एकीकृत मस्यौदा सरकारसमक्ष पेश गरिने केन्द्रले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे