
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपालले सबैभन्दा धेरै आयात गरेका वस्तुहरूमा खनिज इन्धन र बिटुमिनस पदार्थ अग्रस्थानमा रहेका छन्। भन्सार विभागको तथ्यांकअनुसार इन्धनको आयात मूल्य करिब ३५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, तर कुल आयात मूल्यको तुलनामा यसको राजस्व संकलन ३६% मा सीमित छ।
फलाम र स्टिल दोस्रो स्थानमा परे पनि यसको राजस्व योगदान मात्र १६% रहेको छ। त्यस्तै, मेसिनरी र मिकेनिकल उपकरणहरूको आयात तेस्रो स्थानमा रहेको छ, जसको राजस्व संकलन १५% मा अडिएको छ। विद्युतीय उपकरण र मेशिनरीतर्फ १७% राजस्व संकलन भएको देखिन्छ।
सवारी साधन, स्पेयर पार्ट्स र एसेसोरीजको आयात भने राजस्व संकलनतर्फ सबैभन्दा प्रभावकारी रहेको देखिएको छ। सवारीसाधन आयातबाट ६८% राजस्व संकलन भएको छ, जुन अन्य वस्तुहरूसँग तुलना गर्दा सबैभन्दा उच्च हो। यसले सवारी क्षेत्रमा भन्सार दर उच्च रहेको संकेत गर्दछ।
प्लास्टिक सामग्रीबाट २७% र जनावरजन्य तथा वनस्पति बोसो र तेलबाट २१% राजस्व संकलन भएको छ। यता, अन्नपातको आयात उच्च भए पनि केवल ७% राजस्व संकलनमा सीमित रहेको छ। औषधिजन्य सामग्रीबाट संकलित राजस्व ५% मात्र छ, जुन स्वास्थ्य सेवा क्षेत्रलाई दिइएको कर छुटसँग सम्बन्धित देखिन्छ।
सबैभन्दा न्यून राजस्व संकलन रासायनिक मलतर्फ देखिएको छ, जसमा ०% अर्थात् शून्य प्रतिशत राजस्व असुली भएको छ। मल कृषिको लागि अत्यावश्यक भएकाले सरकारले यसमा कर छुटको व्यवस्था गरेको अनुमान गर्न सकिन्छ।
भन्सार विभागका अनुसार, मुलुकको आयात संरचनाले आवश्यक उपभोग्य वस्तुहरूमाथि कर छुटको नीतिलाई प्राथमिकता दिएको देखिन्छ, भने विलासिता वा वैकल्पिक वस्तुहरूमा उच्च भन्सार असुलीको नीति अपनाइएको छ। यसले दिगो आर्थिक व्यवस्थापन र राजस्व सन्तुलनतर्फ सरकारको नीति संकेत गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे