
काठमाडौँ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (स्थायी बसोबाससम्बन्धी भिसा) प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले भिसा जाँच प्रणालीको पुनरावलोकन गरिरहेका बेला यस्तो कदम चालिएको हो।
फक्स न्यूज डिजिटलले सार्वजनिक गरेको अमेरिकी विदेश मन्त्रालयको आन्तरिक ज्ञापनअनुसार, कन्सुलर अधिकारीहरूलाई हाल लागू कानुन प्रयोग गरेर भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ। अमेरिका जाने व्यक्तिहरू पछि गएर सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर हुन सक्ने आशंका भए भिसा नदिने नीति अपनाइने बताइएको छ।
यो निर्णय जनवरी २१ देखि लागू भएको जनाइएको छ। नेपालका साथै सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायत ७५ देश यस सूचीमा परेका छन्। अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई भिसा जाँच र प्रमाणीकरण प्रक्रिया पूर्ण रूपमा पुनरावलोकन नहुँदासम्म नयाँ आप्रवासी भिसा जारी नगर्न निर्देशन दिइएको छ।
यो रोक कहिलेसम्म रहनेछ भन्नेबारे अमेरिकी सरकारले स्पष्ट समयसीमा भने बताएको छैन। यसअघि अमेरिकाले ४० देशमाथि अध्यागमन तथा यात्रा प्रतिबन्ध लगाइसकेको थियो, जसको निरन्तरतामा थप ७५ देश समावेश गरिएको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प प्रशासनले अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग रोक्न र अमेरिकी करदाताको पैसाको गलत प्रयोग हुन नदिन यस्तो निर्णय लिएको हो। अध्यागमन प्रक्रिया पुनः मूल्याङ्कन भएपछि मात्र यी देशका नागरिकका लागि भिसा प्रक्रिया पुनः सुरु गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे