
काठमाडौँ । दक्षिण एशियाका लागि संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी) का नवनियुक्त क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्गेले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री बाला नन्द शर्मासमक्ष आफ्नो प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। नयाँ दिल्लीमा मुख्यालय रहेको युएनओडिसीका क्षेत्रीय प्रतिनिधिका रूपमा नियुक्त होल्गेले प्रमाणपत्र बुझाएपछि परराष्ट्रमन्त्री शर्मासँग शिष्टाचार भेट गर्नुभएको हो।
भेटका क्रममा होल्गेले नेपाल तथा दक्षिण एशिया क्षेत्रमा युएनओडिसीले सञ्चालन गरिरहेका कार्यक्रम र गतिविधिबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराउनुभयो। परराष्ट्रमन्त्री शर्माले होल्गेलाई नेपालमा स्वागत गर्दै उहाँको नियुक्तिप्रति बधाई ज्ञापन गर्नुभयो।
त्यस अवसरमा परराष्ट्रमन्त्री शर्माले लागूऔषध तथा मानव बेचबिखनजस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न नेपाल र युएनओडिसीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री शर्माले होल्गेको कार्यकाल सफल रहोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे