
काठमाडौँ — नेकपा एमाले ओखलढुंगामा प्रतिनिधि छनोटप्रक्रियामा उत्पन्न विवादपछि केन्द्रीय संगठन विभागले पाँच दिनभित्र पुनः मतदान गर्न निर्देशन दिएको छ। अपाङ्गता–१३ अनुसारको निर्देशन विपरीत प्रतिनिधि चयन गरिएको भन्ने गुनासो बढेपछि संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले नयाँ मतदान प्रक्रिया शुरु गर्न औपचारिक परिपत्र जारी गरेका हुन्।
परिपत्रमा ८ मध्ये ६ पालिका कमिटीको आग्रह, बहुसंख्यक उम्मेदवारहरूको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन उल्लंघन गरी सदरमुकाममै गरिएको निर्वाचनलाई मान्यता दिन नसकिएको उल्लेख छ। यसै कारण सबै सदस्यसम्म प्रभावकारी रूपमा सूचना पुर्याई पालिका–स्तरमै मतदान केन्द्र राखेर पाँच दिनभित्र पुनः निर्वाचन गराउन स्थानीय नेतृत्वलाई निर्देशन गरिएको अधिकारीले जानकारी दिए।
निर्वाचन प्रक्रियामा सहजता तथा समन्वयका लागि प्रदेश इञ्चार्ज शेरधन राई, तथा केन्द्रीय नेता विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई जिम्मेवारी तोकिएको परिपत्रमा उल्लेख छ।
गत मंसिर १३ मा आयोजित प्रतिनिधि छनोटमा जम्मा १ हजार ५१८ मत मात्र खसेको थियो। ओखलढुंगामा ७ हजार १३५ जना आम सदस्य भएको अवस्थामा न्यून मत खसेपछि नै निर्वाचन प्रक्रियाप्रति शंका जन्मिएको थियो।
सदरमुकाममा मात्रै बुथ राखेर गरिएको मतदानमा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी घोषित भएका थिए। महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ चयन भए भने युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि निर्वाचित भएका थिए।
उक्त निर्वाचनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले एकलौटी जितेको आरोप पनि स्थानीय तहमा उठेको छ। ओखलढुंगाबाट १२ जना प्रतिनिधि चयन हुने कोटामा ४१ जनाले उम्मेदवारी दिएका थिए। शनिबार सम्पन्न मतदानमा अध्यक्ष केपी ओली समूहमार्फत एक जनासमेत निर्वाचित नभएको आरोप लगाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे