
काठमाडौं ।नेकपा एमालेका नेता महेश बस्नेतले हालै ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा उठाइएको आरोपमा बस्नेतले तामाङले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँको ‘डिल’ गरेको प्रमाण फेला परेको दाबी गरेका छन्।
बस्नेतका अनुसार सोही डिलका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तामाङलाई मन्त्री पदबाट हटाइएको हो। उनले उक्त निर्णयलाई इमानदार नेतृत्वको कदमका रूपमा व्याख्या गरेका छन्।
बस्नेतले तामाङमाथि विभिन्न सरकारी योजनामा ठेक्कापट्टा अनियमितता गरेको, काम अधुरो छाडेको र सरकारी स्रोतको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्। उनका अनुसार तामाङको नाममा २० भन्दा बढी योजनाहरू कालोसूचीमा सूचीकृत छन्। उनले तामाङलाई ‘ठेकेदार कान्छाराम’ भन्दै आलोचना गरेका छन्।
यस्तै, बस्नेतले तामाङले पूर्वनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौं रुपैयाँको ठेक्कामा मिलेमतो गरेको पनि दाबी गरेका छन्। उनले गम्भीर रूपमा भनेका छन् कि “ऊर्जा राज्यमन्त्री भएको आडमा तामाङले कुलमानलाई जोगाउने नाटक गर्दै ठेक्का सेटिङमा अनियमितता गरेका छन्।”
बस्नेतले तामाङले बर्खास्तीपछि प्रधानमन्त्रीमाथि अनावश्यक आरोप लगाएर मिडियामा राजनीतिक नौटङ्की गरिरहेको आरोपसमेत लगाएका छन्। उनले भ्रष्टाचार विरुद्ध इमानदार नेतृत्वलाई समर्थन गर्न सबैलाई आह्वान गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे