
काठमाडौं , २६ कात्तिक । व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ । गुरूङले नेकपा एमालेलाई पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले दिएको रिटको सुनुवाइ सोमबार अदालतका न्यायाधीशहरू सुवेदी र पाण्डेयको इजलासमा परेको हो।
कात्तिक ८ गते पनि सुवेदीकै इजलासमा परेको थियो। त्यतिबेला हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो। भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको छ । कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए । सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा मुद्दा चलिरहेको व्यक्तिका हातबाट दान लिनु नैतिकताको प्रश्न भन्दामाथि एवं कानुनको बर्खिलाप भएको रिटमा भनिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे