
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) मा अध्ययन गराइदिने प्रलोभनमा पारी ठूलो रकम ठगी गरेको अभियोगमा विभिन्न शैक्षिक परामर्श संस्थाका सञ्चालकहरू पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
काठमाडौंका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै आएका ती परामर्श संस्थाहरूले फ्रान्स, अष्ट्रेलिया लगायत मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त भएको भन्दै युएईमा रहेका कलेजहरूमा अध्ययन गराइदिने आश्वासन दिएका थिए। तर, ती कलेज तथा तालिम संस्थाले युएईको उच्च शिक्षा मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायबाट आवश्यक स्वीकृति नलिएको खुलेको छ।
प्रहरीका अनुसार शैक्षिक संस्थाको स्वीकृति र मान्यताबारे झुक्यानमा पारी प्रति विद्यार्थी आठ लाखदेखि बाइस लाख रुपैयाँसम्म असुली गरिएको थियो। हालसम्म १३ जना पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मिति २०८२ पुस ३० गते उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं, नुवाकोट, कपिलवस्तु, दार्चुला र सिन्धुपाल्चोक स्थायी ठेगाना भएका विभिन्न शैक्षिक परामर्श संस्थाका सञ्चालक रहेका छन्। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे