
काठमाडौं, २ वैशाख – विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनरत शिक्षक प्रतिनिधिहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्रीले आज विशेष छलफल गरेका छन्। कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग भेट गरी मागहरूको सम्बन्धमा विस्तृत छलफल गरेका हुन्।
शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माईतीघर मण्डलमा अनिश्चितकालीन शैक्षिक हड्तालसहित आन्दोलनमा छन्। उनीहरूले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने, पेशागत सुरक्षाको प्रत्याभूति, आन्तरिक प्रशासनिक सुधारलगायत माग राखेका छन्।
यसअघि दुई पटक सरकार र शिक्षक प्रतिनिधिबीच वार्ता भए पनि ठोस सहमति बन्न सकेको छैन। महासंघले सरकार वार्तामा गम्भीर नभएको आरोप लगाउँदै आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएको छ।
आजको छलफलपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत कांग्रेसले शिक्षकहरूको जायज मागप्रति गम्भीर ध्यान दिएको बताएका छन्। महामन्त्री शर्माले पनि शिक्षा प्रणाली सुधारका लागि मागहरू उचित भएको भन्दै सरकारलाई समाधानतर्फ उन्मुख हुन सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे