
काठमाडौँ । कपिलवस्तुमा तीन दिनअघि जारी गरिएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलवार बिहान ९ बजेबाट निषेधाज्ञा हटाइएको सूचना जारी गरेको छ। महाराजगन्ज नगरपालिका वडा नं। २, बर्गदा गाउँमा शनिबार दुई समुदायबीच भएको विवादले उग्र रूप लिँदा दिउँसो २ बजे जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। यसअन्तर्गत भेला, सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको थियो। कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकामा पनि आइतबार दिउँसो १ बजेबाट निषेधाज्ञा लागु गरिएको थियो।
हालको अवस्थामा स्थिति सामान्य बन्दै गएपछि नागरिकको जीवन सहज बनाउन निषेधाज्ञा हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले जानकारी दिए। सोमबार साँझदेखि जनजीवन सामान्य भइसकेको छ।
त्यसैगरी, विवादको क्रममा बर्गदा स्थित काली मन्दिरमा तोडफोड गरेको आरोपमा ६ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमा सलमान खा पठान, मेहतान अहमद धुनिया, अब्दुल अख्तर खा, अजमत अली मुसलमान, राहत हुसेन मुसलमान र माहोम्मद हुसेन मुसलमान रहेका छन्। प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार कानुनी प्रक्रिया अघि बढाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे