
काठमाडौँ , पुस ९ । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगी गरेको मुद्दाका आरोपीहरूको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा पूर्वडीआईजी छविलाल जोशीको बयान भएकोमा आज (मंगलबार) रास्वपा सभापति रवि लामिछानेलगायतको हुने भएको हो । जोशीको बयान अझै बाँकी रहेकाले उनको बयान सकिएपछि अन्य प्रतिवादीको बयान शुरु हुने बताइएको छ ।
सोमबार प्रतिवादीहरु लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो ।पहिलो चरणमा अदालतमा लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ भने दोस्रो चरणमा अन्य प्रतिवादीको बयान लिइने जनाइएको छ ।
प्रतिवादीको बयान सकिए पछि थुनछेक बहस हुनेछ । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे