
काठमाडौं: जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर पश्चिमी वायुको प्रभाव जारी छ, साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा स्थानीय वायुको केही प्रभाव पनि देखिएको छ।
मनसुनको अन्त्यसँगै काठमाडौँ उपत्यका र अन्य क्षेत्रहरूमा तापक्रम क्रमशः घट्न थालेको छ। हाल काठमाडौँको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ, र विभागले आजको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीचमा रहने भविष्यवाणी गरेको छ।
विभागका अनुसार, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा आंशिकदेखि साधारणतया बदली छ, जबकि बाँकी भागमा मौसम सफा रहेको छ।
आज बिहान ६:०० बजे जारी गरिएको मौसम बुलेटिनमा भनिएको छ कि आज दिउँसो पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ, जबकि अन्य क्षेत्रहरूमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि उल्लेख गरिएको छ। आज राति पनि यी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ, भने बाँकी भागमा मौसम सफा रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे