
काठमाडौँ , १६ वैशाख । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता सकारात्मक वातावरणमा स्थगित गरिएको छ। सोमबार राति सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अबेरसम्म चलेको वार्ता आज थप तयारी आवश्यक परेकाले अन्तिम सहमति नजिक पुगेर पनि टुंगो लाग्न सकेन। तर, दुबै पक्षबीच सहमति प्रक्रियामा प्रगति भएको बताइएको छ।
वार्ता आज बिहान ८ बजे पुनः बस्ने तय भएको छ। शिक्षक महासंघका नेताहरूले बिहानको वार्ताबाट निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्। सरकारले वार्तामा शिक्षा मन्त्री रघुजी पन्तको नेतृत्वमा सहभागिता जनाएको थियो भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले भाग लिएको थियो। वार्तापछि मन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन्।
नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा प्रस्तुत २२ बुँदे मागहरूमध्ये प्रमुख रूपमा अस्थायी तथा राहत शिक्षकको समायोजन, विद्यालय कर्मचारी (जस्तै लेखापाल), बालकक्षा शिक्षक, विद्यालय सहयोगी (परिचर) को व्यवस्थापन, स्थायी शिक्षकहरूको बढुवा, तलब तथा ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरणको व्यवस्था, अस्थायी सेवाको गणना, र माथिल्लो तहमा स्थायी हुँदा प्राप्त हुने सुविधा समावेश छन्।
यद्यपि वार्ता जारी रहे पनि महासंघले आफ्ना आन्दोलनका कार्यक्रमहरू यथावत् रहने स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे