
काठमाडौँ, ३१ चैत — भक्तपुरको मध्यपुरथिमि नगरपालिका–बोडेमा वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेड्ने भएका छन्। उनका बुबा, ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले यसअघि नौपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। बुद्धकृष्णका दाजु कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेका थिए।
जिब्रो छेड्ने परम्पराअनुसार, जात्राको तीन दिनअगाडीदेखि व्रत बस्नुपर्ने, नुन खान नहुने, अशुद्ध वा सुतक परेका व्यक्तिलाई छुन नहुने, बोडे छाडेर बाहिर जान नहुने नियमहरू छन्। जात्राअघि जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा गई चार दाम चढाएर सगुन दिने तथा जात्राको व्रत सुरु गर्ने परम्परा छ।
जात्राका दिन व्रतधारीले देवीदेवताको पूजा गरी पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको सामु जिब्रो छेड्ने गर्छन्। त्यसपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे नगर परिक्रमा गरिन्छ। अन्त्यमा महालक्ष्मी मन्दिरको परिक्रमा गरी त्यहीँ सुइरो झिकेर माटो लगाइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे