
काठमाडौं, जेठ २० – सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक रहेको छ। दुबै पक्षबीचको वार्ता छबुँदे सहमतिको मस्यौदासहित टुंगिएको हो।
गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न दिने निर्देशिका ल्याएपछि यातायात व्यवसायीले विरोधमा आन्दोलन थालेका थिए। उक्त विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेशलाई आग्रह गर्ने सहमति भएको गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निर्देशिकाको आपत्ति जनाइएको बुँदा हटेपछि मात्रै आन्दोलन स्थगित हुने स्पष्ट पारे। सोमबार रातिसम्म निर्देशनिकासम्बन्धी छलफल टुंगिन नसकेकाले आज पुनः बैठक बस्ने जनाइएको छ।
सरकारले सहसचिव कृष्णराज पन्तको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली बनाएको थियो भने व्यवसायी पक्षबाट अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोली बनेको थियो। गृहमन्त्रालय र मुख्यसचिव एकनारायण अर्यालसँगको छलफलपछि सोमबार राति यातायात मन्त्रालयमा वार्ता टुंगिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे