
काठमाडौं, – नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा पुगेका उनले औपचारिक रुपमा पदभार ग्रहण गरे।
पदभार ग्रहण पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले आफूलाई ठूलो जिम्मेवारीको साथमा पदस्थापन गरिएको र यस क्रममा विभिन्न चुनौतीहरुको सामना गर्नुपर्ने बताएका छन्। उनले नेपालको क्यापिटल मार्केटको दायरा विस्तार गर्ने र यसको अधिकतम उपयोग गर्दै अर्थतन्त्रमा यसको योगदान बढाउने लक्ष्य राखेको बताए।
उनले भने, “क्यापिटल मार्केटको योगदान देशको अर्थतन्त्रमा महत्वपूर्ण भए तापनि यसको पूर्ण सदुपयोग हामीले गर्न सकेका छैनौं। म क्यापिटल मार्केटलाई अधिकतम प्रयोग गर्ने उद्देश्यका साथ काममा लाग्नेछु। यसको प्रभावकारी प्रयोगबाट नेपालको आर्थिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।”
अध्यक्ष श्रेष्ठले लगानीकर्ताको सुरक्षा प्राथमिकता हुने भन्दै त्यसमा सुधार गर्न आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे। उनले विशेष गरी बोर्डको नेतृत्वको अभावमा अड्केका कामलाई अघि बढाउने र क्यापिटल मार्केटको विकासमा थप ध्यान केन्द्रित गर्ने बताएका छन्।
यसअघि, अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु प्रसाद पौडेलमार्फत शपथ ग्रहण गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे