
काठमाडौं। यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेपनि साझा यातायातले काठमाडौं उपत्यकामा आंशिक सेवा जारी राखेको छ। हाल चक्रपथभित्र १५ वटा बस सञ्चालनमा रहेका छन्, तर उपत्यकाका बाहिरी रुटहरूमा सेवा अस्थायी रूपमा निलम्बित गरिएको छ।
साझा यातायातका सुपरभाइजर हरिराम मिश्रका अनुसार, १३ वटा बस लगनखेलबाट चक्रपथसम्म र २ वटा बस कलंकीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन भइरहेको छ। उनले बताए कि अन्य मार्गहरूमा बस सञ्चालन गर्न सुरक्षा निकायसँग समन्वय गरिँदै छ।
“सुरक्षा र थप जनशक्ति उपलब्ध भएमा अन्य बसहरू पनि चलाउने योजना छ। बिहान १० बजेपछि थप बस सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ,” मिश्रले स्पष्ट पारे।
साझा यातायातसँग कुल १११ बस छन्, जसमध्ये प्रतिदिन १०० वटा बस सञ्चालनमा हुने गर्छ। तर, सोमबारको यातायात बन्दका कारण मात्र १५ वटा बसले सेवा दिइरहेको छ। गोदावरी, लेले, बुङमती, लामाटार, नागढुंगा जस्ता बाहिरी मार्गहरूमा अहिले बस सञ्चालन गर्न अनुमति नदिइएको उनले बताए।
हालका लागि चक्रपथभित्र मात्र बस चलाउन आदेश दिइएको र यसैअनुसार सेवा सीमित राखिएको साझा यातायातले जनाएको छ। सुरक्षा अभाव र यातायात अशान्तिका कारण सेवा विस्तारमा अवरोध आएको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे