
काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक सातासम्मको बसाइपछि काठमाडौं फर्किनुहुँदा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्ने तयारी गरेका छन्। राप्रपा र अन्य राजावादी दलहरूको अगुवाइमा काठमाडौंमा प्रदर्शन आयोजना गर्न लागेको खबरपछि, सुरक्षा व्यवस्था कडा पारिएको छ। राप्रपा, राप्रपा नेपाल लगायतका दल र संघसंस्थाहरू काठमाडौंका विभिन्न स्थानमा र्यालीसहित प्रदर्शनको तयारीमा छन्।
यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
आज दिउँसो, शाह हवाईमार्गमार्फत काठमाडौं विमानस्थलमा अवतरण गर्नेछन् र विमानस्थलबाट सीधा महाराजगञ्जस्थित निर्मल निवास जानुहुनेछ। यस क्रममा राजावादी कार्यकर्ताहरू उनलाई स्वागत गर्न र्यालीसहित निर्मल निवाससम्म पुग्नेछन्।
सुरक्षाको दृष्टिले काठमाडौंका विभिन्न संवेदनशील स्थानहरूमा सुरक्षा कडा गरिएको छ। बिहानैदेखि नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, चाबहिल, गौशाला लगायतका क्षेत्रहरूमा सुरक्षाकर्मी तैनात गरिएको छ। शाहको स्वागतका लागि कार्यकर्ताहरू राष्ट्रिय झण्डा, फूलमाला र पूर्वराजा ज्ञानेन्द्र शाहका तस्वीर अंकित ब्यानर र पम्प्लेटसहित उपस्थित हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे