काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा केन्द्रित राजावादी आमसभा हिंस्रक बनेपछि स्थिति नियन्त्रण गर्न प्रशासन कर्फ्यू लगाउने तयारीमा जुटेको छ। राजतन्त्र पुनःस्थापनाको मागसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले नेकपा (एकीकृत समाजवादी) को तीनकुनेस्थित कार्यालयमा तोडफोड र आगजनी गरेको पुष्टि भएको छ।
प्रदर्शनकारीहरूले कार्यालयभित्र प्रवेश गरी फर्निचर तथा कागजपत्र बाहिर ल्याएर जलाएको जनाइएको छ। आन्दोलन उग्र बन्दै जाँदा आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयसमेत क्षति पुगेको छ।
यसैबीच, कोटेश्वरस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा पनि आगजनी प्रयास भएको छ। प्रदर्शनकारीहरूले पेरिसडाँडा मुख्यालयभित्र प्रवेश गरी आगजनी प्रयास गरिरहेको बताइएको छ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार शुक्रबार अपरान्ह ४ बजेपछि कर्फ्य आदेश जारी गरिएको हो ।
‘कर्फ्यू आदेश जारी भइसकेको छ । ५ मिनेटमा सूचना आउँछ,’ भण्डारीले भने, ‘४ बजेपछि कर्फ्यू जारी भएको सूचना आउँदै छ ।’
उनले कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताएका छन् । उग्र बनेका प्रदर्शनकारीहरूले निजी घर, मिडिया हाउस र दलका कार्यालयमा पनि आक्रमण गरेका छन् । उता प्रसाईंसहितका राजावादी भने तीनकुने क्षेत्रबाट सुटुक्क भागेका छन् ।
स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले तीनकुने, आलोकनगर, र पेरिसडाँडा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएका छन्। हिंसात्मक गतिविधि रोक्न स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय लिएको छ। प्रशासनले सर्वसाधारणलाई निर्धारित क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ।









