
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा गएको टोलीले भैरहवा (रूपन्देही) कारागारको अनुगमन गरेको छ। अनुगमनपछि थापाले कारागारको अवस्था चिन्ताजनक रहेको बताइन्।
उनका अनुसार, २५० जनाको क्षमता भएको कारागारमा अहिले ७०० जना कैदी थुनिएका छन्, जुन न्यूनतम मानव अधिकारको उल्लंघन हो। कैदी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको उनले जनाइन्। उनले कारागार प्रमुखलाई यस्तो अवस्थामै व्यवस्थापन गरेकोमा धन्यवाद दिइन्, तर सरकारको तयारी कमजोर भएको बताइन्।
थापाले कारागारभित्र शौचालयको अवस्था कमजोर रहेको, र रवि लामिछानेलाई राखिएको ब्लकमा हावा नचलेको बताइन्। ‘उहाँ बस्ने कोठामा दुई पंखा छन्, तर झ्यालमा प्लाइउडले छेकिएको छ,’ उनले भनिन्। आयोगको आग्रहपछि कारागार प्रशासनले झ्याल खोल्न तयार भएको जनाइन्।
रविलाई अदालतले आदेश दिए पनि जेल सार्न नदिएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। उनले रविले कानुनी सहायता लिन, पत्रपत्रिका पढ्न, न्युज सुन्न र आफ्ना कार्यकर्तासँग भेट्न नपाएको गुनासो गरेको जानकारी दिइन्। आयोगले यी सबै कुरा सुधार गर्न आग्रह गरेको छ।
उनले भनिन्, ‘उहाँले अहिलेसम्म घुमफिर ९बाहिर हिँडडुल० गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्यो, पत्रपत्रिका पढ्न पाउनुपर्यो, न्युज सुन्न पाउनुपर्यो भन्ने कुरा गर्नुभयो , ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’ झ्यालमा प्लाइउड राखिएको र त्यो सुरक्षाका लागि भन्ने कुरा आएको उनले बताइन्। ‘तर हामीले त्यो झ्यालको प्लाइउड झिक्न भनेका छौं, कारागार प्रशासनले हुन्छ भनेको छ,’ उनले भनिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे