
काठमाडौँ , २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। उनलाई गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर २४ गते भैरहवा ल्याइएको थियो र जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो। आज सोमबार अदालतमा पेश गरेपछि थुनुवा पुर्जी जारी गरी भैरहवा कारागार पठाइएको हो।
लामिछानेविरुद्ध सुप्रिम सहकारी संस्थामा १ अर्ब ४३ करोड रुपैयाँ ठगीको आरोप लागेको छ। जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, तर सरकारी वकिल कार्यालयको पुनरावेदनका कारण उच्च अदालतले उक्त आदेश खारेज गर्दै उनलाई थुनामा राख्न आदेश दिएको हो। अदालतको निर्णय अनुसार, मुद्दाको प्रकृति र अन्य पक्षलाई ध्यानमा राखेर थुनामा राख्ने निर्णय गरिएको हो।
अब लामिछानेलाई अदालतको अन्तिम फैसलासम्म भैरहवा कारागारमै राखिनेछ। अदालतमा मुद्दाको पेशी, प्रमाण संकलन, बहस र निर्णयको प्रक्रिया अघि बढ्नेछ, जसमा उनलाई दोषी वा निर्दोष ठहर गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे