
काठमाडौँ, मङ्सिर १८ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली नेपालबाट चीनको औपचारिक भ्रमणमा गएका हुन् । चारदिवसीय भ्रमणको क्रममा ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपविदेशमन्त्री सुन बेइदोङ र नेपाली राजदूत कृष्णप्रसाद ओलीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डल बेइजिङको देउताई गेस्ट हाउसमा बस्नेछन्। मङ्गलबार प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच उच्चस्तरीय भेटवार्ता हुने तयारी भइरहेको छ, जसमा बिआरआई सम्झौतामार्फत दुई देशबीचको विकास साझेदारीलाई दीर्घकालीन कार्यान्वयनको रणनीतिमा कसरी अघि बढाउने विषयमा छलफल हुनेछ।
यस्तै, ओली र चीनका प्रधानमन्त्री लीबीच पनि द्विपक्षीय वार्ता हुनेछ, जसमा विकास साझेदारी र जनसम्बन्धलाई मजबुत बनाउन छलफल हुनेछ। साथै, केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ। बुधबार ओली पेकिङ विश्वविद्यालयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् र नेपाल–चीन व्यापार मञ्चमा सहभागी हुनेछन्।
ओलीसँगको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा। आरजु राणा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, डा। युवराज खतिवडा लगायतका व्यक्तिहरू छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे