
एजेन्सी । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार नबन्दासम्म अमेरिकाले नै त्यहाँको शासन सम्हाल्ने बताएका छन्। उनका अनुसार शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी कराकाससहित केही प्रमुख सहरमा सैन्य कारबाही गरेको थियो। त्यसक्रममा राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको विशेष दस्ता डेल्टा फोर्सले पक्राउ गरेको बताइएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यो कारबाहीलाई अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावको परिणाम भनेका छन्। उनले मादुरो सरकारलाई पटक–पटक “नार्को–आतङ्कवादी” भन्दै आरोप लगाउँदै आएका छन्। यसअघि पनि अमेरिकाले भेनेजुएलाको तेल ढुवानीमा संलग्न जहाजहरूमाथि प्रतिबन्ध लगाएको थियो र लागुऔषध तस्करीको आरोप लगाउँदै समुद्री क्षेत्रमा कडाइ बढाएको जनाएको थियो।
यसको प्रतिक्रिया स्वरूप भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाएको छ। विज्ञप्तिमा काराकासलगायत विभिन्न सहरका नागरिक तथा सैन्य क्षेत्रमा आक्रमण गरिएको दाबी गरिएको छ। भेनेजुएला सरकारले यसलाई आफ्नो सार्वभौमिकता र शान्तिमाथिको गम्भीर आक्रमण भन्दै निन्दा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे