
विराटनगर – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीको नेतृत्वमा निगमका उच्च अधिकारीहरूको टोलीले कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्की संग प्रादेशिक हवाई उडान सञ्चालन र पर्यटन प्रवर्धनका विषयमा छलफल गरेको छ। बैठक मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विराटनगरमा सम्पन्न भएको हो।
उक्त अवसरमा माननीय मुख्यमन्त्री कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारी र अन्य उच्च अधिकारीहरूलाई स्वागत गर्दै कोशी प्रदेशको हवाई उडान र पर्यटन विकासका लागि निगमको पहलको सराहना गरे। उहाँले प्रादेशिक हवाई उडानलाई व्यवस्थित गर्न र यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक कदम चाल्नको लागि सरकार प्रतिबद्ध रहेको बताए।
बैठकमा नेपाल वायुसेवा निगमका विभिन्न वरिष्ठ अधिकारीहरू, जसमा संचालक समिति सदस्य श्री किशोर प्रधान, बजार व्यवस्थापन विभागका निर्देशक श्री टंकनिधि दाहाल, सेन्ट्रल रिजर्भेसन कन्ट्रोल युनिट प्रबन्धक श्री नवराज उपाध्याय, वरिष्ठ लेखा अधिकृत श्री बिपुला बराल, वरिष्ठ अधिकृत श्री नयन शर्मा र विराटनगर स्टेशनका प्रमुख श्री सन्तोष खड्का लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा, कोशी प्रदेशको पर्यटन र प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउन नेपाल वायुसेवा निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान विस्तार गर्नका लागि नयाँ जहाज खरिद, सञ्चालन र व्यवस्थापनका विषयमा उपयुक्त मोडालिटी तय गर्न सकारात्मक छलफल भएको थियो। यस छलफलले कोशी प्रदेशको पर्यटन प्रवर्धन र हवाई यातायातको क्षेत्रमा थप विकासका सम्भावनाहरू खोल्ने विश्वास गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे