
काठमाडौँ, कात्तिक २५ । आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलाममा भएको हो। उहाँको योगदान मुख्यतः किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा रहेको छ। समाज सुधारका लागि उहाँले ‘सत्य धर्म मुचुल्का’ नीति निर्माण गर्नुभएको थियो, जसमा छोरीको विवाहमा पैसा नलिने, मद्यपान र मासु सेवन नगर्ने, जीवहत्या नगर्ने जस्ता महत्वपूण समाज सुधारका बुँदाहरू समेटिएका थिए।
फाल्गुनन्दको योगदान केवल धर्म र संस्कृतिमा सीमित रहेन, उहाँले समाजको उत्थानका लागि गम्भीर नीतिहरू निर्माण गर्नुभयो र त्यसको कारण उहाँलाई समय समयमा देशद्रोहीको आरोप पनि लागेको थियो। उहाँको योगदानको कदर गर्दै सरकारले २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
आजको फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिइसकेको छ। फाल्गुनन्दको योगदानलाई सम्मान गर्दै ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापासहित पूर्वी नेपालका किराँती समुदायले यो दिन विशेष कार्यक्रमहरूको आयोजना गर्दै श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे