
काठमाडौँ, साउन २ | पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेपछि काठमाडौं काठमाडौँ, साउन २ नगरपालिकाले आज बिहानैदेखि फुटपाथ विस्तार गर्ने योजनाअन्तर्गत पुनः काम थालेको छ ।
डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम सुचारु गर्ने बाटो खुलेको हो । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि न्युरोडमा फुटपाथ विस्तारको काम शुरु गरेको थियो । यसअघि महानगरपालिकाले फुटपाथ बिस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेको थियो ।
सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालयले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश नन्द र खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि सडक डिभिजन कार्यालय पछि हटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे