
काठमाडौँ — ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको काम अघि बढ्ने भएको छ। सर्वोच्च अदालतले यसअघि दिएको “काम यथास्थितिमा राख्नू” भन्ने अल्पकालीन आदेशलाई अब निरन्तरता नदिने निर्णय गरेपछि निर्माणका लागि बाटो खुलेको हो।
बुधबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यस्तो निर्णय गरेको हो। केबलकार कम्पनीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आदेशपछि अब बाधा नबचेको बताए।
यसअघि लिम्बू समुदायसहित स्थानीयले मुक्कुमलुङ क्षेत्र सांस्कृतिक र धार्मिक दृष्टिले अति महत्वपूर्ण भएको भन्दै केबलकार निर्माण रोक्न माग गरेका थिए। उनीहरूले केबलकारले सांस्कृतिक आस्था र सम्पदामा असर पुर्याउने भन्दै विरोध र प्रदर्शन गर्दै आएका थिए।
अब अदालतको आदेशपछि निर्माण कार्य अघि बढ्ने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे