
काठमाडौं – पशुपतिनाथको सम्पत्ति, पशुपति गौशाला धर्मशाला, २१ वर्षपछि पुनः फिर्ता भएको छ। काठमाडौं जिल्ला अदालतले २०६० सालमा भएको सम्झौतासम्बन्धी निर्णय खारेज गर्दै, मारवाडी सेवा समितिको दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० सालको साउन १७ गते समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले अदालतमा ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी मुद्दा दायर गरेको थियो। अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले यस मुद्दामा दाबी नपुग्ने फैसला भएको पुष्टि गरेका छन्।
अदालतको निर्णयसँगै, मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित ९ रोपनी ९ आना जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अदालतको फैसलाले पशुपतिनाथको सम्पत्ति पुनः प्राप्त भएको बताएका छन्। उनले भनेका छन्, “पशुपति गौशाला धर्मशाला भगवान श्री पशुपतिनाथको सम्पत्ति व्यापारिक लाभका लागि प्रयोग गरिएको थियो। हाम्रो प्रयासपछि यस सम्पत्तिको फिर्ता भएको छ र अब यसलाई धार्मिक प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ।”
सम्झौतापत्र अनुसार, श्रीपशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक कार्यको लागि उक्त सम्पत्ति उपलब्ध गराएको थियो, जसमा वार्षिक ५१ हजार रुपियाँ तिर्ने र पारंपरिक संरक्षणका लागि सहयोग गर्ने उल्लेख थियो। तर, समितिले व्यावसायिक प्रयोजनका लागि होटल र रेस्टुरेन्ट सञ्चालन गर्दै आएको थियो।
सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र समितिका महासचिव शिव भगवान् अग्रवालले हस्ताक्षर गरेका थिए। समितिले हालै पनि वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाइरहेको छ, तर पुनः सम्झौतामा सहमति नदिएको कारण खारेज गरिएको निर्णय आएको थियो।
डा. थापाले भनेका छन् कि अब धर्मशाला तीर्थयात्रीका लागि व्यवस्थित रूपमा सञ्चालन हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे