
काठमाडौँ — लगानी बोर्डको ६३औँ बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना स्थापनासम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (DPR) प्रतिवेदनको समीक्षा गरी उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकले मुलुकमा रासायनिक मल उत्पादन सम्भाव्यता सम्बन्धी अन्तिम प्रतिवेदनलाई जानकारीमा लिँदै, त्यसको पुनरावलोकन र आवश्यक परामर्शसहित उपयुक्त मोडेल प्रस्तुत गर्न कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनालाई प्रतिस्पर्धात्मक प्रक्रिया अन्तर्गत ‘स्वीस च्यालेन्ज’ विधिबाट अघि बढाउने निर्णय गरेको छ। यस्तै, विभिन्न देशहरूसँग हालसम्म भएका दोहोरो कर उन्मुक्ति तथा लगानी प्रवर्द्धन सम्झौताहरूको अध्ययन गरी नयाँ सम्झौताको सम्भावना खोज्न अर्को कार्यदल गठन गरिएको छ।
बैठकमा ‘डिप सिबेड माइनिङ’ परियोजनामा प्राप्त प्रस्तावमाथि अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय नीति र आर्थिक/प्राविधिक पक्षको अध्ययन गरी सुझाव पेश गर्न अर्को समिति गठन गरिएको छ।
नेपालमा ग्रीन हाइड्रोजन परियोजना स्थापनासम्बन्धी प्रस्तावका आधारमा सो परियोजनाको प्रारम्भिक सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अख्तियारी लगानी बोर्डको कार्यालयलाई दिने निर्णयसमेत बैठकले गरेको छ।
त्यस्तै, लगानी बोर्डको कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन केही अधिकारहरू प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गर्ने निर्णय भएको छ। साथै, निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको प्रावधानअनुसार ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णयसमेत बैठकबाट गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे