
रामेछाप — मन्थली नगरपालिकामा किसानलाई व्यवसायिक बनाउन प्रेरित गर्ने उद्देश्यले दुईदिने नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ। प्रदर्शनीको उद्घाटन मंगलबार संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङले गरेका हुन्।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा बाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की, विभिन्न राजनीतिक दलका नेताहरू, र नगरपालिकाका जनप्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले प्रदर्शनीले किसानलाई व्यवसायिक बन्न उत्प्रेरित गरेको उल्लेख गरेका छन्।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाले कृषि र लघुउद्यम क्षेत्रमा हालसम्म गरेको लगानीको प्रतिफल मूल्यांकन गर्न र आगामी लगानीका प्राथमिकता पहिचान गर्न प्रदर्शनी आयोजना गरिएको बताए।
प्रदर्शनीमा तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य उत्पादन, चिया, कफी, मसला, कन्दमूल, र नर्सरी लगायतका कृषि उपज प्रदर्शनमा राखिएका छन्। पशुपक्षी क्षेत्रतर्फ खसी, बोका, र अण्डाजस्ता उत्पादन प्रस्तुत गरिएका छन्। यस्तै, दूधजन्य पदार्थमा डेरीका विभिन्न परिकार प्रदर्शन गरिएको छ।
लघुउद्यमतर्फ बेकरी, होजियारी, ढाका कपडा, झोला, दुना-टपरी, हस्तकला, बाँसजन्य सामग्री, साबुन, आलु चिप्सलगायतका सामग्री प्रदर्शनीमा समावेश गरिएका छन्।
जिल्ला समन्वय समितिको मैदानमा आयोजित प्रदर्शनीमा किसानहरूलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ। साथै, किसानहरूले प्रदर्शनीमा ल्याएका सामग्रीको यातायात खर्च, स्टलमा सहभागी हुनेलाई खाना र आवास खर्च पनि नगरपालिकाले व्यवस्था गरेको छ।
प्रदर्शनीमा पाँचभन्दा बढी स्टलमा किसानहरूले आफ्नो उत्पादन प्रदर्शन गरेका छन्। मेलामा करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे