
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयरको बाँडफाँट सम्पन्न गरिसकेको थियो। सो प्रक्रिया पूरा भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेअनुसार कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसअन्तर्गत, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत (१ लाख ८० हजार कित्ता) शेयर छुट्याइएको थियो, जुन हाल बाँडफाँट भइसकेको छ। साथै, ५४ हजार कित्ता शेयर कर्मचारीहरूका लागि तथा ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि वितरण भइसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता तथा अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम मिति चैत ३ गतेसम्म तोकिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले विकास गरेको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे