
काठमाण्डू, २ डिसेम्बर – गृहमन्त्री रमेश लेखकको नेतृत्वमा अति विशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिमा सुधार गरिएको छ। यस कार्यविधि संशोधनको पहिलो चरण सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ।
नयाँ कार्यविधिअनुसार, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा बिदाइ र स्वागतको क्रममा विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने सरकारी पदाधीकारीहरूको संख्या कटौती गरिएको छ। यसअघि, राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुने व्यवस्था थियो, जुन अब घटाएर १४ जना बनाइएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले यस कार्यविधि संशोधनको उद्देश्य भीभीआईपीको स्वागत र बिदाइ प्रक्रियालाई अधिक व्यवस्थित र प्रभावकारी बनाउन रहेको बताएका छन्। उनले भने, “सम्पूर्ण व्यवस्थालाई सरल र प्रभावकारी बनाउन सरकारले कार्यविधिको संशोधन गरेको हो।”
साथै, राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा विमानस्थलमा अति विशिष्ट कक्षदेखि मिनी कारकेडसम्म उपस्थित हुने पदाधीकारीहरूको संख्या पनि घटाइएको छ। यसअघि उपराष्ट्रपतिको नेतृत्वमा १३ जना उपस्थित हुने व्यवस्था थियो, जुन अब घटाएर ९ जना मात्र राखिएको छ।
उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा पनि पदाधीकारीहरूको संख्या कम गरिएको छ। नयाँ कार्यविधिअनुसार, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अब विमानस्थलमा ७ जना पदाधीकारी उपस्थित हुनेछन्। यसअघि, उक्त संख्या १२ थियो।
प्रधानमन्त्रीको विदेश भ्रमणको व्यवस्थामा पनि सुधार गरिएको छ। अब प्रधानमन्त्रीको विदेश भ्रमणमा विमानस्थलको अति विशिष्ट कक्षमा कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनेछन्, जुन पूर्वप्रणालीअनुसार २१ जना थिए।
यस संशोधनसँगै, अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको उपस्थिति आवश्यक नपर्नेछ। यसअघि राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको क्रममा सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था थियो।
कार्यविधिको यस पहिलो संशोधनले सुरक्षा व्यवस्थापनलाई अझ सशक्त र सुविधाजनक बनाउने उद्देश्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे