
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पार्टी नेतृत्वले आगामी पाँच वर्षे संसदीय कार्यकाललाई प्रभावकारी र स्मरणीय बनाउने आवश्यकता औँल्याएको छ। कार्यक्रममा सांसदहरूलाई ऐतिहासिक जनमतको जिम्मेवारीबोध, कानुन निर्माण र सरकारको निगरानीमा आफ्नो भूमिकाबारे स्पष्ट निर्देशन दिइएको थियो।
पार्टी नेतृत्वले विगतका निर्वाचन र सरकारहरूको अनुभव स्मरण गर्दै अबको कार्यकालमा पुराना गल्तीहरू नदोहो¥याउन सुझाएको छ। २०४८, २०६४/६५ र २०७४ सालमा प्राप्त भारी जनादेश भएका सरकारहरूले आन्तरिक असहमति, प्रारम्भिक गल्ती र अस्थिरताका कारण आफ्नो पूर्ण क्षमता उपयोग गर्न नसकेका उदाहरण प्रस्तुत गरिएको थियो। अहिलेको जनादेश नेपालकै इतिहासमा अभूतपूर्व भएको बताउँदै, यस अवसरलाई प्रणाली सुधार, सुशासन र जनताको आशामा न्याय गर्ने दिशामा प्रयोग गर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा सांसदहरूलाई संसद्मा आफ्नो मुख्य जिम्मेवारी कानुन निर्माण, नीति बहस र सरकारको अनुगमनमा केन्द्रित हुन निर्देशन दिइयो। आफ्ना निर्वाचन क्षेत्रका जनताका मुद्दा र गुनासा उच्च स्वरमा उठाउने, विकास निर्माणमा शीघ्रता ल्याउने र नीति कार्यान्वयनमा सतर्क रहनुपर्नेमा जोड दिइयो।
सांसदहरूको आचरण, जीवनशैली र पारदर्शितालाई विशेष महत्व दिइएको थियो। पार्टी प्रतिनिधिहरू सार्वजनिक व्यक्तित्व भएकाले आफ्नो व्यवहार, सम्पत्ति विवरण र आर्थिक स्रोतको पारदर्शिता सुनिश्चित गर्नुपर्ने कुरा औँल्याइयो। गलत आचरणले पार्टीको उच्च मापदण्डमा असर पार्न सक्ने भएकाले अनुशासन, जिम्मेवारी र सामाजिक उत्तरदायित्व पालना गर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा सांसदहरूलाई अध्ययन र सिकाइको वातावरण सिर्जना गर्न पनि सुझाव दिइयो। संसद्लाई विश्वविद्यालयजस्तो सिकाइको थलो मान्दै संविधान, नियमावली, ऐनहरू र पार्टीका वाचापत्रबारे गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिइयो। नीति निर्माणमा तथ्य र प्रमाणको प्रयोग, अन्तर्राष्ट्रिय आयाम बुझ्न र बहुआयामिक सम्बन्ध व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा पनि औँल्याइयो।
अन्ततः, पार्टी नेतृत्वले नयाँ सांसदहरूलाई नयाँ ऊर्जा, ताजगी र विश्वसनीयता देखाएर जनताको अपेक्षा पूरा गर्न आग्रह गरेको छ। पुराना दलहरूको कमजोरीबाट सिक्दै, रास्वपाले युवा ऊर्जा र विश्वासलाई कार्यान्वयनमा परिणत गर्नुपर्नेमा जोड दिइयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे